अस्वाभाविक मागले ग्यास आपूर्तिमा दबाब, दुई साताभित्र समस्या समाधान हुने निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावको मुख्य कारण उपभोक्ताको अस्वाभाविक माग र अनावश्यक भण्डारण भएको जनाएको छ। निगमले ग्यास आयात बढे पनि बढ्दो मागका कारण आवश्यक मात्रामा आपूर्ति गर्न कठिनाइ भइरहेको स्पष्ट पारेको छ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निमित्त कार्यकारी निर्देशक दीपक बरालले एउटा सिलिन्डर प्रयोगमा रहेकै अवस्थामा अर्को सिलिन्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिले वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बताए। उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरे।

बरालका अनुसार निगमले भारतीय आयल कर्पोरेसनसँग आगामी दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास आपूर्तिको माग गरेको छ। यसअघि नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो। तर, भारतीय आयल कर्पोरेसनले तत्काल मागअनुसार थप ग्यास उपलब्ध गराउन नसकिने जानकारी दिएको उनले बताए।

निगमले दसैँ–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास जारी राखेको जनाएको छ। सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसम्म भरिदिन सकिने र त्यसपछि बजारको आपूर्ति अवस्था सामान्य बन्ने बरालको विश्वास छ।

उनले अहिले देखिएको ग्यास अभावको समस्या आगामी दुई साताभित्र समाधान हुने अपेक्षा पनि व्यक्त गरे। निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगरी आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापनमा निरन्तर काम भइरहेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin