सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति भएपछि म्यानपावर व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राख्दै साउन २९ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। संघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच आइतबार भएको छलफलपछि सरकारले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन स्थगित गरिएको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय रहेको उल्लेख छ। ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।

व्यवसायीहरूले आफ्ना मागसँग सम्बन्धित प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषय पेस गर्न सक्ने र आवश्यक प्रशासनिक सहजीकरण विभागले गर्ने मन्त्रालयले जनाएको छ। विभागबाट समाधान हुन नसके पुनः मन्त्रालयमा निवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

यता, सरकारबाट प्राप्त सकारात्मक प्रतिबद्धतालाई ध्यानमा राख्दै हाल सञ्चालनमा रहेका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको संघले जनाएको छ।

संघका महासचिव हिरा बहादुर डाँगीले सबै व्यवसायी संस्थालाई आफ्ना मुख्य तथा शाखा कार्यालय नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। उनले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकहरूको उडानसमेत नियमित गर्न व्यवसायीलाई आग्रह गरिएको बताए।

सरकारले आगामी दुई महिनाभित्र विभागीय सुधार तथा नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले उल्लेख गरेको छ। सो अवधिमा भएका प्रगतिको निरन्तर निगरानी, समन्वय र समीक्षा गर्ने सहमति पनि भएको छ।

तोकिएको समयभित्र सरकारको प्रतिबद्धताअनुसार ठोस उपलब्धि हासिल नभए व्यवसायीहरूको वृहत् छलफल तथा प्राप्त म्यान्डेटअनुसार थप संघर्षका कार्यक्रम अघि बढाउने अधिकार संघले सुरक्षित राखेको जनाएको छ।

संघले आफ्ना माग र सरकारसँग भएका संवाद तथा प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको भन्दै व्यवसायीहरूलाई एकता, अनुशासन र सहकार्य कायम राख्न आग्रह गरेको छ।

यससँगै केही दिनदेखि जारी म्यानपावर व्यवसायीहरूको आन्दोलन तत्कालका लागि रोकिएको छ भने म्यानपावर कार्यालय तथा सेवा नियमित रूपमा सञ्चालन हुने भएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin