काठमाडौं । इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्व तत्काल टुंगिने सम्भावना न्यून देखिँदा यसको प्रभाव विश्वसँगै नेपालमा पनि देखिन थालेको छ। फेब्रुअरी २८ देखि सुरु भएको युद्धले विश्व ऊर्जा बजारमा हलचल ल्याएको छ भने नेपालमा पनि ऊर्जा आपूर्ति र खपतमा असर पर्ने संकेत देखिएको छ।
विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा तेलको मूल्य बढेको छ। यसले इन्धन आपूर्तिमा समस्या निम्त्याउने सम्भावना बढेपछि नेपालमा विद्युत् खपत बढ्ने अनुमान गरिएको छ। विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ र घरायसी विद्युतीय उपकरणको प्रयोग बढ्न सक्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य का अनुसार इन्धनको अभाव वा मूल्यवृद्धिका कारण समग्रमा १० देखि १५ प्रतिशतसम्म विद्युत् माग बढ्न सक्छ। यद्यपि खपतको स्वरूप भने तत्कालै परिवर्तन नहुने उनले बताए।
हाल सुक्खायामका कारण आन्तरिक उत्पादन घटेर करिब १५०० मेगावाटमा सीमित भएको छ, जबकि पिक समयमा करिब २१०० मेगावाट माग छ। यसले करिब ६०० मेगावाट विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। भारतबाट आयातमा अवरोध आएमा नेपालमा लोड व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।
यसैबीच, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल का अध्यक्ष गणेश कार्की ले भारतमै ऊर्जा संकट आए नेपालले विद्युत् नपाउने जोखिम रहेको बताएका छन्। उनले यस्तो अवस्थालाई अवसरका रूपमा लिएर नेपालले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।
विद्युत् वितरण प्रणालीमा ट्रान्सफर्मर अभाव पनि प्रमुख चुनौती बनेको छ। प्राधिकरणले १२ सय ट्रान्सफर्मर खरिदका लागि गरेको टेन्डर प्रक्रिया अन्तर्राष्ट्रिय आपूर्ति समस्याका कारण प्रभावित भएको छ। चिनियाँ कम्पनीले आपूर्ति गर्न नसक्ने जानकारी दिएपछि प्राधिकरणले स्वदेशी उत्पादकबाट खरिद गर्ने प्रयास थालेको जनाएको छ।
ट्रान्सफर्मर अभाव व्यवस्थापनका लागि प्राधिकरणले तीन रणनीति अपनाएको छ। ओभरलोड नियन्त्रणका लागि स्मार्ट प्रविधिको प्रयोग, बिग्रिएका ट्रान्सफर्मरको मर्मत, र स्वदेशी कम्पनीबाट आपूर्ति सुनिश्चित गर्ने कामलाई तीव्रता दिइएको छ।
ऊर्जा संकटको सम्भावनाबीच भारतले विद्युत् आयात नरोक्ने मौखिक आश्वासन दिएको प्राधिकरणले जनाएको छ। हाल भारतबाट दैनिक करिब १० हजार मेगावाट आवर विद्युत् आयात भइरहेको छ भने आगामी महिनामा माग अझै बढ्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय द्वन्द्वका कारण उत्पन्न हुने यस्ता संकटले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न थप दबाब सिर्जना गरेको छ।



