काठमाडौं — नेपालमा बारम्बार परिवर्तन हुने सरकारी नीति, बजेट तथा मौद्रिक नीतिको अनिश्चितताले समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पार्ने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको ‘Macroeconomic Effects of Economic Policy Uncertainty: Evidence from Nepal’ शीर्षकको कार्यपत्रमा नीतिगत अस्थिरताले कुल गार्हस्थ्य उत्पादन (जीडीपी), सेयर बजार, निजी क्षेत्रतर्फको कर्जा प्रवाह तथा आयातमा उल्लेखनीय गिरावट ल्याउने निष्कर्ष निकालिएको छ।
राष्ट्र बैंकका अनुसन्धानकर्ता वीरेन्द्र बहादुर बुढा, रोहन ब्यन्जनकार र स्वस्तिक नेपालले सन् २०११ यताका तथ्यांकको विश्लेषण गर्दै गुगल ट्रेन्ड्सको आधारमा नीतिगत अनिश्चितता मापन गरेका हुन्। अध्ययनअनुसार बजेट र वार्षिक मौद्रिक नीति सार्वजनिक हुने अवधिमा अनिश्चितता सबैभन्दा बढी हुने गरेको छ।
अध्ययनले नीतिगत अनिश्चितताको सबैभन्दा तत्काल असर नेप्सेमा पर्ने देखाएको छ। अनिश्चितता बढ्दा नेप्से सूचक तत्काल करिब ५ प्रतिशतसम्म घट्ने र उच्च प्रभाव पर्दा १० प्रतिशतसम्म ओरालो लाग्न सक्ने उल्लेख गरिएको छ।
त्यस्तै, नीतिगत अन्योल बढेपछि दोस्रो त्रैमासदेखि जीडीपीमा संकुचन देखिने र आर्थिक वृद्धि अधिकतम २ प्रतिशतसम्म घट्न सक्ने अध्ययनले जनाएको छ। व्यवसायीले लगानी योजना स्थगित गर्दा निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा करिब ५ प्रतिशतसम्म कमी आउने तथा उपभोग र व्यापार घट्दा आयात १५ प्रतिशतसम्म खुम्चिन सक्ने निष्कर्ष पनि कार्यपत्रमा उल्लेख छ।
यद्यपि, नीतिगत अनिश्चितताले उपभोक्ता मूल्य सूचकांक अर्थात् मूल्यवृद्धिमा भने उल्लेखनीय प्रभाव नपार्ने अध्ययनले देखाएको छ।


