धान–चामलमा नेपालको परनिर्भरता कायमै, एक वर्षमा करिब ४० अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं । कृषिप्रधान देश नेपालमा मुख्य खाद्यान्नका रूपमा रहेको धान तथा चामलमा परनिर्भरता अझै उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ।

गत आर्थिक वर्षमा नेपालले कुल ७ लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको हो। यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा भने धानचामल आयातमा सामान्य कमी आएको छ। अघिल्लो वर्ष नेपालले ७ लाख ७५ हजार २६८ टन धानचामल आयात गरेको थियो, जसको मूल्य ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो।

यसरी हेर्दा एक वर्षमा धानचामल आयातको परिमाण करिब ३३ हजार ५६५ टनले घटेको छ भने आयात रकम करिब २९ करोड ३९ लाख रुपैयाँले कमी आएको छ।

धान आयात घट्यो, चामल आयात बढ्यो

तथ्यांकअनुसार गत वर्ष कच्चा धानको आयात घटेको छ भने तयारी चामलको आयात भने बढेको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले ४ लाख ७७ हजार ९०९ टन धान आयात गरेको छ। यसको मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ रहेको छ।

यसमा २ हजार ९९३ टन धानको बिउ४ लाख ७४ हजार ९१५ टन अन्य कच्चा धान समावेश छ।

अघिल्लो वर्ष भने नेपालले ५ लाख ३३ हजार ७१५ टन धान आयात गरेको थियो, जसको मूल्य २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ थियो।

तर तयारी चामलको आयात भने बढेको छ। गत वर्ष नेपालले २ लाख ६३ हजार ७९४ टन तयारी चामल आयात गरेको छ। यसका लागि २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ।

तयारी चामलमध्ये सबैभन्दा धेरै मसिनो चामल १ लाख ८३ हजार ११० टन, बासमती चामल ७१ हजार ६२२ टन, कनिका ९ हजार ५२ टन आयात भएको छ।

अघिल्लो वर्ष तयारी चामलको आयात भने २ लाख ४१ हजार ५५३ टन थियो, जसको मूल्य १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ रहेको थियो।

धानचामल आयातमा भारतको प्रभुत्व

नेपालको धानचामल आयातमा भारतको लगभग पूर्ण प्रभुत्व रहेको छ। कुल आयातको ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतबाटै आउने गरेको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षमा आयात भएको ४ लाख ७४ हजार ९१५ टन कच्चा धान सबै भारतबाटै आएको छ।

त्यस्तै, ७१ हजार ६२२ टन बासमती चामलमध्ये ७१ हजार ६१७ टन भारतबाट आयात भएको छ।

मसिनो चामलतर्फ पनि भारतकै हिस्सा अत्यधिक छ। कुल १ लाख ८३ हजार ११० टन मसिनो चामलमध्ये १ लाख ८२ हजार ४०५ टन भारतबाट आएको छ।

यसका अतिरिक्त भियतनाम, चीन, थाइल्यान्ड र इटालीबाट समेत केही मात्रामा चामल आयात भएको छ।

उत्पादन बढाउने चुनौती

नेपालमा धान उत्पादनका लागि पर्याप्त कृषि भूमि र अनुकूल वातावरण भए पनि उत्पादन, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापनको कमजोरीका कारण आयातमा निर्भरता कायम रहेको छ।

कच्चा धानको आयात घट्नु सकारात्मक देखिए पनि तयारी चामलको आयात बढ्नुले स्वदेशी उत्पादनले माग पूरा गर्न नसकेको अवस्था देखाउँछ। आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधि र किसानलाई प्रोत्साहन आवश्यक देखिन्छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin