काठमाडौं, असार ३१ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९४.५० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १९२.५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल १९४ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १,५६६, पोखराका लागि १,१०० डलर र भैरहवाका लागि १,०८५ डलर निर्धारण गरिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४.२ किलोग्राम क्षमताको एक सिलिन्डर एलपी ग्यास २,०६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २,१६० रुपैयाँ रहेको थियो।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।



