काठमाडौं । नेपाल आयल निगमले आफूबाट प्रमाणीकरण भएका तथा हाल बजारमा चलनचल्तीमा रहेका ग्यास सिलिन्डरमा मात्रै ग्यास बिक्री गर्न उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको छ।
निगमका अनुसार २०८० सालसम्म बजारमा १ लाख ५४ हजार ग्यास सिलिन्डर प्रयोगमा थिए। यसबाहेक थप १६ हजार सिलिन्डर रहेको अनुमान गरिएको छ।
पछिल्लो समय बजारमा ग्यासको सहज बिक्री हुन नसकेको अवस्थामा नयाँ सिलिन्डर बजारमा ल्याउन सक्ने भन्दै निगमले उद्योगी तथा विक्रेतालाई सचेत गराएको हो।
निगमले १४.२ केजी ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था लागू भएपछि माग बढेको र आपूर्ति सहज बनाउने नाममा उद्योग तथा बिक्रेतामार्फत नयाँ सिलिन्डर बिक्री भइरहेको गुनासो आएको जनाएको छ। त्यसैले नयाँ सिलिन्डर बिक्री वितरण नगर्न निर्देशन दिइएको हो।
तर निगमका निर्देशक मनोज ठाकुरले पहिलोपटक ग्यास प्रयोग गर्ने उपभोक्तालाई ग्यास बिक्रीमा भने रोक नलगाइएको स्पष्ट पारेका छन्। उनका अनुसार उद्योगहरूले नयाँ सिलिन्डरमा ग्यास भरेर बजारमा बिक्री गर्न नपाउने व्यवस्था मात्रै गरिएको हो।
भरिएको सिलिन्डरमा ग्यास बिक्री गर्ने निर्णयपछि बजारमा माग बढ्दा उपभोक्ता लामो लाइन बसेर ग्यास लिनुपर्ने अवस्था आएको थियो।
पछिल्लो समय केही सहज भएको बजारमा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेपछि पुनः ग्यासका लागि उपभोक्ताको लाइन बढेको छ।



