नेपाल आयल निगम अझै घाटामा, १५ दिनमै ७ अर्बभन्दा बढी नोक्सानी प्रक्षेपण

काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको पछिल्लो लागत मूल्य सार्वजनिक गर्दै निगम अझै गम्भीर घाटामा रहेको जनाएको छ।

इन्डियन आयल कर्पोरेसन बाट मार्च ३१ मा प्राप्त नयाँ दररेटअनुसार आयात लागत उच्च र बिक्री मूल्य कम हुँदा निगमको घाटा झनै बढेको हो।

निगमका अनुसार पछिल्लो मूल्यसूचीअनुसार मात्र १५ दिनको अवधिमा ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

निगमले भारतबाट आयात गरेर एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धन बिक्री वितरण गर्दै आएको छ। हाल सबैभन्दा बढी घाटा खाना पकाउने एलपी ग्यासमा रहेको छ, जहाँ प्रति सिलिण्डर ३३१ रुपैयाँ २५ पैसा घाटा भइरहेको छ। ग्यासको लागत २ हजार ३४१ रुपैयाँ २५ पैसा परे पनि उपभोक्तालाई २ हजार १० रुपैयाँमा बिक्री गरिँदै आएको छ।

त्यस्तै, डिजेलमा प्रति लिटर ८७ रुपैयाँ ९९ पैसा घाटा रहेको छ। डिजेलको लागत २९४ रुपैयाँ ९९ पैसा भए पनि खुद्रा मूल्य २०७ रुपैयाँ मात्र तोकिएको छ।

मट्टीतेलमा प्रतिलिटर ३६ रुपैयाँ ७० पैसा र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले जनाएको छ। पेट्रोलको लागत २२१ रुपैयाँ ३२ पैसा तथा मट्टीतेलको लागत २४३ रुपैयाँ ७० पैसा रहेको छ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ०.९२ रुपैयाँ घाटा भए पनि अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा नाफा रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दो क्रममा रहेकाले आगामी दिनमा सोहीअनुसार मूल्य समायोजन गरिने निगमले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card