काठमाडौं, असार २३ — नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार एक वर्ष अवधिको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन्। न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र वितरण गरिनेछ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ङ’ नाम दिइएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २३ गते गरिनेछ। ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
चालु आर्थिक वर्षको अन्त्यतिर राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि धमाधम ऋणपत्र जारी गर्दै आएको छ।



