काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको हो।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ३४७ वटा धितोपत्रको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा १७१ कम्पनीको सेयरमूल्य बढ्दा ८६ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।
बिहीबार सर्वोत्तम पेन्ट्सको सेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ पुगेको छ।
त्यस्तै, माउन्ट एभरेस्ट पावरको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९६ रुपैयाँ ७० पैसा पुगेको छ।
यता १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १०.४५ प्रतिशतले घटेको छ। यसको प्रतिडिबेन्चर मूल्य १ हजार १३१ रुपैयाँमा झरेको छ। ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को मूल्य पनि ५.५८ प्रतिशतले घटेर १ हजार ६५ रुपैयाँ १० पैसा कायम भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २५६ रुपैयाँ ७० पैसा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ११.९० प्रतिशत बढी हो।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर दोस्रो स्थानमा रहेको छ। कम्पनीको १६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसको प्रतिकित्ता मूल्य १ हजार ४१९ रुपैयाँ ८० पैसा कायम भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ। लगानी समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।


