काठमाडौं । मंगलबार सेयर बजार ४८.५७ अंकले बढेर २६३३ विन्दुमा बन्द भयो। बजार अघिल्लो दिनको तुलनामा ८६ अंक माथिबाट खुले पनि सुरुवाती विन्दु कायम राख्न नसकेपछि दैनिक चार्टमा रातो मैनबत्ती बनेको छ।
सोमबार २५८५ विन्दुमा बन्द भएको नेप्से मंगलबार २६७१ विन्दुमा खुलेको थियो। बजार खुलेपछि केही समय उच्च विन्दुमा रहे पनि बिक्री चाप बढ्दा नेप्से २६१० विन्दुसम्म झरेको थियो। पछि खरिददारी बढेपछि बजार केही सम्हालिँदै २६३३ विन्दुमा बन्द भयो।
सरकारले सेयर बजार सुधारका २५ बुँदे कार्यक्रम घोषणा गरेपछि मंगलबार बजारमा सुरुवाती उत्साह देखिएको थियो। व्यक्तिगत लगानीकर्ताको सेयर कारोबारमा लाग्ने कर घटाउने, वार्षिक नाफाघाटाको आधारमा घाटा समायोजन गरी कर तिर्ने व्यवस्था गर्ने, उच्च मूल्यका सेयरको स्प्लिट तथा संस्थाले आफ्नै सेयर बाइब्याक गर्न सक्ने व्यवस्थालगायतका सुधार प्रस्ताव सार्वजनिक भएका छन्।
मंगलबार बनेको रातो मैनबत्तीले बजार खुलेको उच्च विन्दुमा बिक्री चाप देखिएको संकेत गर्छ। यद्यपि, यसलाई मात्र आधार बनाएर अब बजार घट्ने निष्कर्ष निकाल्न सकिँदैन।
आगामी दिनमा नेप्से २५८५ देखि २६१० विन्दुको क्षेत्रमा आएर पुनः माथि फर्किन्छ वा त्यस क्षेत्रभन्दा तल जान्छ भन्नेले बजारको आगामी प्रवृत्ति बुझ्न महत्वपूर्ण हुने विश्लेषणमा उल्लेख छ। उक्त क्षेत्रमा बजारले टेवा पाएर माथि फर्किएमा खरिद चाप बलियो रहेको संकेत हुन सक्छ भने तल झरेमा मंगलबार देखिएको बिक्री चाप थप बलियो भएको मान्न सकिन्छ।
मंगलबारको एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन (एडी) सूचकले करिब ६३ लाख रुपैयाँ बराबरको डिस्ट्रिब्युसन देखाएको छ। तर एक महिनाको अवधिमा एडी सूचक ४४ लाख रुपैयाँले धनात्मक छ। यस अवधिमा ४ करोड ९४ लाख रुपैयाँ बराबरको डिस्ट्रिब्युसन हुँदा ५ करोड ३८ लाख रुपैयाँ बराबरको एकुमुलेसन भएको देखिन्छ।
यसले मंगलबार बजारबाट केही पैसा बाहिरिए पनि पछिल्लो एक महिनाको समग्र अवधिमा भने बजारमा पैसा भित्रिने क्रम कायम रहेको संकेत गर्छ।



