नयाँ सरकार गठनसँगै शेयर बजारमा नयाँ रेकर्ड बन्ने अपेक्षा गरिएको भए पनि त्यसको विपरीत नेप्से परिसूचक घट्ने क्रममा देखिएको छ।
बालेन शाह नेतृत्वको सरकार सत्तामा आएपछि खुलेको पहिलो दिनमै नेप्से ७१ अंकले घटेको थियो। त्यसयता पाँच कारोबार दिनमध्ये दुई दिन सामान्य सुधार देखिए पनि अन्य दिनहरूमा बजार उल्लेख्य रूपमा ओरालो लागेको छ।
ब्रोकरहरूका अनुसार नयाँ सरकारको प्रारम्भिक कदमहरूले बजारमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ। विशेषगरी, सरकार गठनलगत्तै पुराना दलका नेताहरू पक्राउ परेपछि राजनीतिक अस्थिरता बढ्ने चिन्ता लगानीकर्तामा देखिएको उनीहरूको भनाइ छ।
त्यसपछि व्यवसायीहरूमाथि भएको कारबाहीले बजारमा थप दबाब सिर्जना गरेको छ। व्यवसायी दीपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्धित अन्य व्यवसायीहरू पनि अनुसन्धानको दायरामा पर्न सक्ने आशंकाले लगानीकर्तामा डर बढेको छ।
हालसम्म नेप्से २९५० विन्दुबाट १६७ अंक (५.६९ प्रतिशत) ले घटेर २७८२ विन्दुमा झरेको छ।
बजारमा सूचीकृत कम्पनीहरूको नामसमेत विभिन्न घटनासँग जोडिएपछि तिनको सुशासनमाथि प्रश्न उठ्न थालेको छ। अपारदर्शी कारोबारका लागि सूचीकृत संस्थाबाटै रकम प्रयोग भएको समाचारले पनि लगानीकर्ताको विश्वास कमजोर बनाएको ब्रोकरहरू बताउँछन्।
अनुसन्धानका क्रममा दीपक भट्टले शेयर खरिद गर्दा आफ्नै खाताबाहेक अन्य स्रोतबाट रकम प्रयोग गरेको खुलेको छ। विभिन्न कम्पनीहरूमार्फत करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ।
यद्यपि, प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगानाका अनुसार यस्तो गिरावट दीर्घकालीन नहुन सक्छ। उनका अनुसार एउटै घटनाको प्रभाव बजारमा बारम्बार दोहोरिँदैन र अब बजार क्रमशः स्थिरतामा फर्किन सक्छ।
उनले नेप्सेको पहिलो टेवा २७८० विन्दुमा रहने र त्यसले साथ नदिए २७२० देखि २६६० विन्दुसम्म झरेपछि पुनः उकालो लाग्ने सम्भावना रहेको बताए।
साथै, सरकारले चाँडै नीति तथा कार्यक्रम ल्याउने र मौद्रिक नीति अगाडि बढाउने तयारीमा रहेकाले आगामी दिनमा बजारमा सुधार आउने अपेक्षा गरिएको छ।



