काठमाडौँ — सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजी बजारसम्बन्धी विषय समेटिए पनि लगानीकर्ताहरू भने आश्वस्त हुन सकेका छैनन्।
सरकारले नीति तथा कार्यक्रममा सेयर बजारमा संस्थागत लगानीकर्ता, बीमा कम्पनी, पेन्सन फण्ड तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने उल्लेख गरेको थियो। साथै धितोपत्र नियमन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्ने, पुँजी बजारलाई सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने तथा ऋण बजार, बण्ड बजार र पूर्वाधार बन्ड विस्तार गर्ने योजना पनि प्रस्तुत गरिएको थियो।
तर विगतदेखि नै दोहोरिँदै आएका कार्यक्रम मात्रै समेटिएको र बजार सुधारका लागि ठोस योजना नआएको भन्दै लगानीकर्ताहरू निराश बनेका हुन्।
यसैबीच मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा बन्द भएको हो।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। यसदिन ३३८ वटा धितोपत्रको एक करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच भएको थियो।
कारोबारमा आएका कम्पनीहरूमध्ये १३ वटाको सेयर मूल्य बढेको, २५१ वटाको घटेको तथा ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन धौलागिरी लघुवित्त वित्तीय संस्था को सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४९५ रुपैयाँ पुगेको छ। यस्तै, एसबिएल डिबेन्चर को मूल्य ५.५३ प्रतिशतले बढेर प्रति डिबेन्चर एक हजार २८७ रुपैयाँ ५० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रहेको छ। कम्पनीको सेयर मूल्य १२.४० प्रतिशतले घटेर प्रतिकित्ता ८०५ रुपैयाँमा झरेको छ। साथै कुमारी धनवृद्धि योजना को मूल्य ८.२९ प्रतिशतले घटेर प्रति इकाइ ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार भएको उक्त सेयरको मूल्य अघिल्लो दिनको तुलनामा ३.८८ प्रतिशतले घटेको हो।
यस्तै, रिलायन्स स्पिनिङ मिल्स दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको प्रतिकित्ता तीन हजार ७२९ रुपैयाँमा १८ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहबाहेक बाँकी १२ समूहको परिसूचक घटेको छ। तीमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.३३ प्रतिशतले घटेको छ।



