काठमाडौं, असार १५ — गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन घट्दै ५२ अंकले ओरालो लागेको छ। साताको अन्त्यसम्म नेप्से २६४९ विन्दुमा बन्द भएको छ, जुन गत चैत १० गते २९६० विन्दु पुगेयताकै न्यून स्तर हो।
लगातारको गिरावटका कारण बजारमा निराशा देखिए पनि पछिल्ला कारोबारको विश्लेषणले बिक्री दबाब क्रमशः कमजोर बन्दै गएको संकेत गरेको छ। केही सातादेखि २७०० विन्दुलाई आधार बनाएर टिक्ने प्रयास गरेको बजार अहिले २६३३–२६४० विन्दुको क्षेत्रमा नयाँ टेवा खोजिरहेको विश्लेषण गरिएको छ।
गत साताको दोस्रो कारोबार दिन नेप्से सबैभन्दा धेरै २६ अंकले घटेको थियो। त्यसयताका कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट कायम रहे पनि मूल्य घट्ने दर भने कम हुँदै गएको देखिएको छ।
कारोबारमा रहेका २७६ कम्पनीमध्ये अन्तिम कारोबार दिनसम्म ३० कम्पनीको सेयर मूल्य स्थिर वा सामान्य वृद्धि भएको थियो भने बाँकी २४६ कम्पनीको मूल्य घटेको थियो। तीमध्ये २३३ कम्पनीको मूल्य चार प्रतिशतभन्दा कमले मात्रै घटेकाले आक्रामक बिक्री दबाब पहिलेको तुलनामा कम भएको संकेत मिलेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि, बजारमा बलियो खरिद लहर सुरु भइसकेको अवस्था भने देखिएको छैन। लगानीकर्ताहरू अझै बजारको दिशा स्पष्ट हुने प्रतीक्षामा रहेकाले खरिद गतिविधि सीमित रहेको बताइएको छ।
प्राविधिक सूचकहरू पनि यही अवस्थातर्फ संकेत गर्छन्। नेप्सेको १४ दिने आरएसआई (RSI) न्यून स्तरबाट केही सुधार भए पनि अझै अत्यधिक बिक्री भएको क्षेत्रमा रहेको छ। यसले तत्काल ठूलो उछालभन्दा पनि सीमित सुधार वा सानो दायराभित्रको उतारचढावको सम्भावना देखाउँछ।
विश्लेषकहरूका अनुसार बजारमा दिगो सुधारका लागि परिसूचकसँगै मूल्य बढ्ने कम्पनीहरूको संख्या पनि उल्लेखनीय रूपमा बढ्न आवश्यक छ। हाल अधिकांश कम्पनीमा बिक्री दबाब कायम रहेकाले स्पष्ट सुधारको संकेत देखिएको छैन।
आर्थिक वर्षको अन्तिम चरण, आगामी मौद्रिक नीतिप्रतिको प्रतीक्षा तथा लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीतिका कारण बजार अझै सतर्क अवस्थामा रहेको छ। अब नेप्सेले २६३०–२६४० विन्दुमा बलियो टेवा बनाउन सक्छ कि सक्दैन र मूल्य बढ्ने कम्पनीहरूको संख्या बढ्छ कि बढ्दैन भन्ने कुराले बजारको आगामी दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।


