काठमाडौं, २९ असार — साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से करिब ८ महिनाकै न्यून विन्दुमा झरेको छ।
यस दिन नेप्से ३०.६० अंक घटेर २५७० अंकमा कायम भएको छ। यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो। त्यस दिन नेप्से २५६० अंकमा थियो।
बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो रकम गत वैशाख ९ गतेयताकै उच्च कारोबार हो।
सोमबार बजार दिनभरजसो ओरालोमा रह्यो। कुल २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।
सबै समूहगत सूचक घटेका छन्। व्यापार समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ।
यस दिन बैंकिङ समूह ०.६८ प्रतिशत, विकास बैंक ०.८३ प्रतिशत, फाइनान्स १.३२ प्रतिशत, होटल तथा पर्यटन १.९९ प्रतिशत, जलविद्युत् १.९८ प्रतिशत, लगानी ०.८८ प्रतिशत, जीवन बीमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत, अन्य समूह ०.८५ प्रतिशत र व्यापार समूह २.३० प्रतिशत घटेका छन्।
कारोबार भएका कम्पनीमध्ये सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत बढेको छ।
यता, उपकार लघुवित्तको मूल्य ११.२८ प्रतिशतले घटेको छ। त्यस्तै बुद्धभूमि हाइड्रोपावर ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ६.५१ प्रतिशत, हिमस्टार ऊर्जा ६.४२ प्रतिशत र टक्सार पिखुवाखोला हाइड्रोपावर ६.२४ प्रतिशत घटेका छन्।
सोमबार सबैभन्दा धेरै कारोबार हुने सूचीमा ऋणपत्र अगाडि रहेका छन्।



