काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ। नयाँ मूल्यसूचीअनुसार डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
परिवर्तित मूल्यअनुसार अब डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धन प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा Indian Oil Corporation ले पठाएको नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा समेत निगम अझै ठूलो घाटामा रहेको छ।
लागत मूल्य उच्च र बिक्री मूल्य कम रहेकाले हालको समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार हाल पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ।



