काठमाडौं, साउन २२ — नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार हाल व्यवस्थापन समितिको बैठक जारी छ। उक्त बैठक सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बस्नेछ र त्यहाँबाट स्वीकृति प्राप्त भएलगत्तै मौद्रिक नीति सार्वजनिक गरिनेछ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले मौद्रिक नीति आजै ल्याउने तयारी गरिएको हो।
यस वर्षको मौद्रिक नीतिमा संरचनात्मक परिवर्तन पनि गरिएको छ। नियामकीय व्यवस्थाहरू अब मौद्रिक नीतिमा समावेश नगरिने भएका छन्। त्यस्ता व्यवस्थाहरू आवश्यकता अनुसार नियमित परिपत्रमार्फत जारी गरिने राष्ट्र बैंकको तयारी छ।
सरकारले चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेकाले उक्त लक्ष्यलाई सहयोग पुग्ने गरी तुलनात्मक रूपमा लचिलो मौद्रिक नीति ल्याउने तयारी गरिएको जनाइएको छ।



