काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको सञ्चालक समितिको वर्तमान संरचना र अर्थसचिवको भूमिकालाई यथावत राख्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले हालको बोर्डको संख्या, योग्यता र संरचना उपयुक्त रहेको भन्दै अनावश्यक परिवर्तन नगर्न आग्रह गरे।
उनले सदस्य संख्या बढाउँदा निर्णय प्रक्रिया थप जटिल हुन सक्ने उल्लेख गर्दै वर्तमान संरचनाले प्रभावकारी रूपमा काम गरिरहेको बताए। अर्थसचिव बोर्डमा रहँदा पनि कार्यसम्पादनमा कुनै समस्या नभएको उनको भनाइ थियो।
यद्यपि, गभर्नर र डेपुटी गभर्नर नियुक्तिका लागि प्रस्ताव गरिएको योग्यतासम्बन्धी व्यवस्थामा भने पुनर्विचार आवश्यक रहेको उनले बताए। ऐनमा यस्तो योग्यता नराख्न आग्रह गर्दै उनले सीमित व्यक्ति मात्र योग्य हुने अवस्था सिर्जना गर्न नहुने धारणा व्यक्त गरे।
गभर्नर पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव वा प्राध्यापकजस्ता पदमा हासिल गरिएको अनुभव र दक्षतालाई पनि ऐनले योग्यताको आधारका रूपमा समेट्नुपर्ने सुझाव दिए।
उनका अनुसार सक्षम र अनुभवी व्यक्तिहरूलाई अवसर दिने गरी कानुनी व्यवस्था बनाउनु नै राष्ट्र बैंकको संस्थागत क्षमता सुदृढ बनाउन उपयुक्त हुनेछ।



