काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र माग गरेको हो। यसअघि योग्यताका आधारमा छनोट भएका सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीले बोलपत्रमा सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिके एन्ड डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रूसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको ओबर्थर फिड्युसेयर एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटी प्रिन्टिङ यसअघि योग्य कम्पनीका रूपमा छनोट भएका थिए।
बोलपत्र प्रक्रियामा प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ। बोलपत्रसम्बन्धी कागजातका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ।
राष्ट्र बैंकले अक्टोबर १५ गते दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक राखेको छ। इच्छुक कम्पनीले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि त्यसपछि थप ३० दिन रहने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार कुनै पनि वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ।



