काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ‘सिरिज २०२५’ नाम दिइएको नयाँ नोट साविककै आकारमा रङ परिवर्तन गरी जारी गरिएको हो। नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखासमेत राखिएका छन्।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। त्यस्तै, सात प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँस र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि राखिएको छ।
नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।



