काठमाडौँ । इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। तर यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्तासम्म तत्काल नपुग्ने संकेत देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेसँगै बन्दजस्तै रहेको होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षाले तेल बजारमा दबाब परेको हो। अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९६.३१ डलरमा झरेको छ भने ब्रेन्ट क्रुड १३ प्रतिशतले घटेर ९५.३६ डलरमा सीमित भएको छ।
तर नेपाल आयल निगमका अनुसार विश्व बजारमा मूल्य घटे पनि नेपालमा तत्काल असर देखिने अवस्था छैन। निगमका प्रवक्ता मनोज ठाकुरले कच्चा तेल र प्रशोधित तेलबीचको मूल्य अन्तर अत्यधिक बढेकाले खरिद लागत अझै उच्च रहेको बताएका छन्।
उनका अनुसार हाल कच्चा तेल करिब १०० डलर आसपास हुँदा डिजेलजस्तो प्रशोधित तेलको मूल्य ३०० डलरसम्म पुगेको छ, जुन सामान्य अवस्थामा २०–२५ डलर मात्र हुने अन्तरभन्दा धेरै हो। यसले गर्दा कच्चा तेल सस्तो हुँदा पनि नेपालले किन्ने तेलको मूल्य तुरुन्तै घट्दैन।
यस्तै, सरकारले पेट्रोलियम पदार्थमा करमा ५० प्रतिशत छुट दिएको भए पनि निगम अझै ठूलो घाटामा छ। हाल पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँ घाटा रहेको निगमको दाबी छ।
निगमले भारतीय आयल कर्पोरेसनबाट आउने नयाँ मूल्यसूचीको प्रतीक्षा गरिरहेको छ। आगामी १५ तारिखमा आउने मूल्यका आधारमा मात्रै नेपालमा इन्धनको मूल्य समायोजन हुने सम्भावना रहेको छ।
यसरी अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको फाइदा नेपाली उपभोक्ताले तत्कालै पाउने सम्भावना न्यून देखिएको छ।



