काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले नेपालमा हवाई क्षेत्र संकटतर्फ धकेलिएको छ। उडान संख्या घट्नुका साथै यात्रु चापमा उल्लेख्य गिरावट देखिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा दैनिक यात्रु संख्या करिब ३० प्रतिशतले घटेको छ। पहिले दैनिक औसत १२ हजार यात्रु उड्ने गरेकोमा अहिले त्यो संख्या घटेर ८ हजारमा झरेको छ।
इन्धनको मूल्य अप्रिलयता १०० प्रतिशतभन्दा बढीले बढेपछि हवाई भाडा आकासिएको छ। आन्तरिक उडानमा भाडा ५० प्रतिशतसम्म वृद्धि भएको छ। उदाहरणका रूपमा, काठमाडौं–पोखरा रुटमा एकतर्फी भाडा ४,४०० रुपैयाँबाट बढेर ६,००० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि प्रभाव स्पष्ट देखिएको छ। यात्रु संख्या १० प्रतिशतले घट्दा उडान मुभमेन्ट १५ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांक छ। साथै, अन्तर्राष्ट्रिय हवाई भाडा पनि २०–२५ प्रतिशतसम्म महँगिएको छ।
उडान कटौतीले प्राधिकरणको आम्दानीमा समेत ठूलो असर परेको छ। अन्तर्राष्ट्रिय उडानबाट दैनिक ३०–४० लाख रुपैयाँ नोक्सान भइरहेको छ, जुन केही समयअघि १ करोड रुपैयाँसम्म पुगेको थियो। आन्तरिक उडानतर्फ राजस्वमा १५–२० प्रतिशत गिरावट आएको छ।
वायुसेवा सञ्चालकहरूका अनुसार दैनिक करिब २,५०० यात्रु घटेका छन्। लागत बढेसँगै एयरलाइन्स सञ्चालन गर्न कठिन बन्दै गएको र केही कम्पनी बन्द हुने जोखिम समेत बढेको छ।
यता, पर्यटन क्षेत्रमा पनि असर परेको छ। अन्तर्राष्ट्रिय उडान घट्दा होटल बुकिङमा गिरावट आएको व्यवसायीहरूले बताएका छन्। नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय प्रचार अभियान अघि बढाउने तयारी गरेको छ।



