रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा रसुवाको माथिल्लो क्षेत्रमा पुनःसुचारु भएको छ।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुञ्चे, भार्खु तथा प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरेको हो।
प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद प्राविधिक टोलीको निरन्तर प्रयासपछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको प्राधिकरण रसुवा शाखाका प्रमुख गुञ्जमान तामाङले जानकारी दिए।
बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि ती क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो। प्राविधिक टोलीले क्षतिग्रस्त संरचनाको मर्मत तथा आवश्यक प्राविधिक काम सम्पन्न गरेपछि सेवा पुनः सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।



