समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको छ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३४१ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाटै पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको जनाएको छ।
यस्तै, समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट बक्यौता रकम असुल गरेको जानकारी दिएको छ। उक्त रकम नै कानुनी व्यवस्थाअनुसार बचतकर्तालाई फिर्ता गर्न प्रयोग गरिएको समितिको भनाइ छ।
समितिका अनुसार पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई कानुनबमोजिम वितरण गर्ने प्रक्रिया निरन्तर जारी रहने समितिले जनाएको छ।



