व्यवसायी पक्राउप्रति निजी क्षेत्रको चेतावनी: अर्थतन्त्रमा असर पर्ने संकेत

काठमाडौं । उद्यमी व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रका तीन प्रमुख संस्थाले गम्भीर चिन्ता व्यक्त गर्दै अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै हालै महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्र त्रसित बनेको बताएका छन्।

विज्ञप्तिमा नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहेको र कुल रोजगारीमध्ये ८६ प्रतिशत हिस्सा निजी क्षेत्रमै निर्भर रहेको उल्लेख गर्दै यस्तो अवस्थाले समग्र आर्थिक प्रणालीमै नकारात्मक असर पर्ने जनाइएको छ।

नयाँ सरकार गठनसँगै लगानीमैत्री वातावरणको अपेक्षा गरिएका बेला व्यवसायीमाथि भइरहेको धरपकडले लगानीकर्तामा असुरक्षा बढाएको संस्थाहरूको भनाइ छ। यसले नयाँ लगानी घट्ने, रोजगारी सिर्जना सुस्त हुने र राजस्व संकलनमा समेत गिरावट आउने संकेत देखिएको छ।

संस्थाहरूका अनुसार निजी क्षेत्र अस्थिर हुँदा बैंकिङ प्रणालीमा समेत दबाब पर्न सक्छ। व्यवसायीको आम्दानी घटेमा ऋण तिर्ने क्षमता कमजोर भई खराब कर्जा (एनपीएल) बढ्ने जोखिम रहेको जनाइएको छ। साथै, उद्योग–व्यवसाय प्रभावित हुँदा आपूर्ति श्रृंखला अवरुद्ध भई उत्पादन र वितरण प्रणालीमा असर पर्ने उल्लेख गरिएको छ।

संयुक्त विज्ञप्तिमा आर्थिक कसुरका विषयमा अनुसन्धान गर्दा “पहिले सुन्ने र कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्ने” अभ्यास अपनाउन सरकारलाई आग्रह गरिएको छ। अनुसन्धानमा सहयोग गर्न तयार हुँदाहुँदै पनि पक्राउ गरिनुले निजी क्षेत्र निरुत्साहित बनेको जनाइएको छ।

निजी क्षेत्रले दोषी प्रमाणित भए कारबाही हुनुपर्नेमा सहमति जनाउँदै संविधानले दिएको कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।

हालको अवस्थाले व्यवसायीहरूमा भय र अनिश्चितता बढाएको भन्दै संस्थाहरूले विश्वासको वातावरण निर्माण गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin