काठमाडौं । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको बक्यौता रकम अबको केही दिनभित्रै भुक्तानी हुने भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी अघि बढाएको हो।
बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ भएको उनले बताए।
सचिव मिश्रका अनुसार बर्दिया र कैलालीका उखु किसानलाई बाँकी रकम उपलब्ध गराउने निर्णय मन्त्रीस्तरबाटै भइसकेको छ। भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी दसैँअघि नै किसानको खातामा रकम पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
उखु किसानले लामो समयदेखि बक्यौता रकम भुक्तानीका लागि सरकारसँग माग गर्दै आएका थिए। मन्त्रालयले यसअघि पनि भुक्तानी गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा किसान समस्यामा परेका थिए।
मन्त्रालयले अब प्रक्रिया छिटो पूरा गरेर रकम निकासा गर्ने जनाएको छ।



