भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, कनेक्टिभिटी र भारतीय लगानी बढाउन जोड

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारतबीच कनेक्टिभिटी विस्तार र भारतीय लगानी बढाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेचमा बोल्दै वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई थप प्रभावकारी बनाउन भौतिक, डिजिटल र ऊर्जा सञ्जाल विस्तार आवश्यक रहेको बताए।

उनले नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन गर्नुपर्नेमा पनि जोड दिए। व्यापार घाटा घटाउन र गैरभन्सार अवरोध हटाउन सन्धिमा समयानुकूल सुधार आवश्यक रहेको उनको भनाइ थियो।

नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको जानकारी दिँदै वाग्लेले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधिका क्षेत्रमा भारतीय लगानी बढाउन आग्रह गरे। विकास वित्तका नयाँ स्रोत परिचालनसँगै हरित तथा सहुलियतपूर्ण वित्तीय उपकरणको उपयोग बढाउनुपर्नेमा पनि उनले जोड दिए।

वाग्लेले नेपालले हालै भोगेको प्राकृतिक विपद्को विषय उठाउँदै विपद्का बेला भारत सरकार र भारतीय जनताले गरेको सहयोगप्रति आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणमा ‘बिल्ड ब्याक बेटर’ अवधारणा लागू गरिरहेको उनले बताए।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली क्षेत्रमा यसको असर बढी परेको उल्लेख गर्दै उनले जलवायु न्यायका विषयमा भारतसँग सहकार्य गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी भारतीय विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासन र आर्थिक एजेन्डाबारे धारणा राखेका थिए। छलफलमा सीमापार कनेक्टिभिटी, ऊर्जा सहकार्य र पारस्परिक विश्वासलाई नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारका महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin