काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत घोषणा गरेका विभिन्न नयाँ कर तथा शुल्क आजदेखि औपचारिक रूपमा लागू गरेको छ। नयाँ व्यवस्थाले शिक्षा, स्वास्थ्य, विद्युत, राइड सेयर, सेयर कारोबार, घरजग्गा, आयकर तथा केही आयातित वस्तुमा प्रत्यक्ष प्रभाव पार्नेछ।
आजदेखि निजी विद्यालयले विद्यार्थीबाट लिने भर्ना, मासिक, परीक्षा लगायत सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क उठाउनुपर्ने भएको छ। त्यस्तै निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाले बिरामीबाट लिने सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ। यी शुल्क कार्यान्वयनका लागि सम्बन्धित संस्थाले आफ्नो बिलिङ प्रणाली अद्यावधिक गर्नुपर्नेछ।
विद्युत र राइड सेयर सेवामा पनि पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको छ। घरायसी प्रयोजनका लागि ५० युनिटभन्दा बढी विद्युत प्रयोग गर्ने उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ भने औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने विद्युतमा १३ प्रतिशत भ्याट लाग्नेछ। राइड सेयर सेवाको भाडामा ५ प्रतिशत भ्याट लागू हुँदा कम्पनीले चालकबाट लिने सेवा शुल्कमा भने १३ प्रतिशत भ्याट कायम गरिएको छ।
सरकारले सेयर कारोबारबाट हुने पुँजीगत लाभकर पनि बढाएको छ। अब एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा भएको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्नेछ। घरजग्गा बिक्रीमा पनि पुँजीगत लाभकरको दर वृद्धि गरिएको छ।
आर्थिक ऐनअनुसार आयकरका नयाँ सीमा पनि आजदेखि लागू भएका छन्। अब अधिकतम आयकर दर २९ प्रतिशत कायम गरिएको छ भने करका तह पाँचमा सीमित गरिएको छ।
यसअघि जेठ १५ गतेदेखि लागू गरिएको आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क (डीपीएफ) र स्वच्छ पूर्वाधार लगानी शुल्क पनि कार्यान्वयनमा छन्। यसअन्तर्गत केही कृषि तथा दुग्धजन्य उत्पादन, विद्युतीय सवारीसाधन र घरायसी विद्युतीय उपकरणमा नयाँ शुल्क लागिरहेको छ।
यस्तै सरकारले सुनचाँदीमा लाग्दै आएको विलासिता शुल्क हटाएर ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लागू गरेको छ। पाँचतारे होटल तथा आयातित मदिरामा लाग्ने २ प्रतिशत विलासिता शुल्क भने यथावत राखिएको छ।



