काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या १२.१ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए। यस वर्षको तथ्याङ्कमा भने एसियाली बजारबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ भने युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटक घटेका छन्।
सेप्टेम्बरमा सार्क राष्ट्रबाट ३० हजार ८५ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशत बढी हो। भारतबाट मात्रै १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्। श्रीलङ्काबाट ७ हजार १०८ र बङ्गलादेशबाट ३ हजार ९६४ पर्यटक आएका छन्।
सार्कबाहेकका एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक आएका छन्। चीनबाट ११ हजार २१२ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशत बढी हो। जापान, मलेसिया र दक्षिण कोरियाबाट आउने पर्यटकको सङ्ख्या पनि बढेको छ।
यता युरोपबाट आउने पर्यटकको सङ्ख्या ८.७ प्रतिशतले घटेर १५ हजार १४८ मा झरेको छ। बेलायतबाट ३ हजार ७२५ पर्यटक आए पनि यो अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशत कम हो।
अमेरिकी महादेशबाट आउने पर्यटक १२.३ प्रतिशतले घटेर १० हजार १०७ पुगेका छन्। अमेरिकाबाट मात्रै ८ हजार २९९ पर्यटक आएका छन्। ओसियाना क्षेत्रबाट आउने पर्यटक पनि २९ प्रतिशतले घटेर ५ हजार ४२२ मा सीमित भएका छन्।
मध्यपूर्वबाट आउने पर्यटक भने ११.९ प्रतिशतले बढेर २ हजार ६०६ पुगेका छन्। अफ्रिकाबाट ४२४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.३ प्रतिशत बढी हो।



