इन्धन महँगिएसँगै फेरि भाडा बढाउने प्रस्ताव, दुई सातामै पुनः समायोजन सिफारिस

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ। गत समायोजन भएको दुई साता नबित्दै विभागले फेरि भाडा बढाउने सिफारिस गरेको हो।

विभाग स्रोतका अनुसार यात्रुवाहक सवारीमा ९.८ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीमा करिब १४ प्रतिशत र तराई क्षेत्रमा १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने प्रस्ताव गरिएको छ।

यसअघि गत चैत २५ गते विभागले अन्तरप्रदेश रुटमा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। सो क्रममा यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा बढाइएको थियो।

त्यसयता इन्धनको मूल्य दुईपटक वृद्धि भइसकेपछि यातायात व्यवसायीहरूले पुनः भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएका थिए। पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको प्रभाव नेपालमा पनि परेको हो।

नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको थियो भने यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि गरिएको थियो। यससँगै डिजेलको मूल्य मात्रै प्रतिलिटर ५५ रुपैयाँले बढेको छ।

इन्धनको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा बढाउन दबाब दिइरहेका छन्। मन्त्रालयले प्रस्तावबारे निर्णय गरेपछि नयाँ भाडादर लागू हुने जनाइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin