उपराष्ट्रपति यादवको जोड– पेट्रोलियम आयात घटाउन विद्युतीय सवारीको प्रयोग बढाऔँ

९ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड भएको बताएका छन्।

मंगलबार नाडा अटो शो २०२६ को १८औँ संस्करण उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र कोर्न अटोमोबाइल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ,’ उनले भने।

नेपाल जलस्रोतमा धनी मुलुक भएकाले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। जलविद्युत् उत्पादन बढिरहेको अवस्थामा इन्धन आयातमा बर्सेनि अर्बौं रुपैयाँ बाहिरिने अवस्था अन्त्य गर्न विद्युतीय सवारीसाधन उपयुक्त विकल्प हुन सक्ने उनको भनाइ थियो।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई व्यापारमा मात्र सीमित नराखी नेपालमै सवारीसाधन तथा त्यसका पार्टपुर्जा उत्पादनको सम्भावना विस्तार गर्नुपर्ने बताए। नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ वातावरणमैत्री र प्रविधिमैत्री सवारी प्रणालीको विकास गर्नुपर्नेमा उनले जोड दिए।

विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै चार्जिङ स्टेसनलगायत आवश्यक पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउनुका साथै आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारका नीति तथा कार्यक्रम व्यवसायीको मनोबल बढाउने खालका हुनुपर्ने बताए।

गत आर्थिक वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त भएको उल्लेख गर्दै उनले कुल राजस्वमा आठदेखि नौ प्रतिशत योगदान गर्ने यस क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेर्न नहुने धारणा राखे।

श्रेष्ठले अब सवारीसाधन आयातमा मात्र निर्भर नबसी नेपालमै सवारीसाधन र पार्टपुर्जाको एसेम्बलिङ तथा उत्पादन सुरु गर्नुपर्ने आवश्यकता औँल्याए। यसबाट उत्पादनमूलक क्षेत्रको विकाससँगै युवाका लागि रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनी आयोजना गर्न उपयुक्त पूर्वाधारको अभाव रहेको बताए। भृकुटीमण्डपको वर्तमान प्रदर्शनीस्थल ट्रक, बस तथा ठूला उपकरण प्रदर्शनका लागि पर्याप्त नभएको उल्लेख गर्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको व्यापक आर्थिक योगदानलाई बुझ्न सरकारसँग आग्रह गरे। नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले चार्जिङ पूर्वाधार विस्तार र स्वदेशमै एसेम्बल उद्योग स्थापना गर्न नीतिगत स्पष्टता तथा आवश्यक सहुलियत दिनुपर्ने उनको भनाइ थियो।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ सुरु भएको नाडा अटो शो २०२६ भदौ २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin