काठमाडौं । यातायात व्यवस्था विभागले साढे २७ लाखभन्दा बढी सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको जनाएको छ।
विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिसकिएको छ। कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ।
विभागका अनुसार १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको हो।
यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने हाल छापिएको छैन। विभागले यस्ता लाइसेन्सधारकलाई नवीकरण गरेपछि १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त हुने भएकाले आफूलाई पायक पर्ने यातायात कार्यालयमा गई नवीकरण गर्न आग्रह गरेको छ।
यसैबीच विभागले नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई थप सहज बनाउन प्रणालीमा सुधार गरिएको जनाएको छ। अब राष्ट्रिय परिचयपत्रमा रहेको विवरण प्रणालीमार्फत प्राप्त गर्न सकिने तथा राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।



