काठमाडौँ । केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै अन्तिम निर्णय लिने तयारी गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एमाले अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा छन्।
अस्पताल स्रोतका अनुसार उनको पित्तथैलीमा पत्थरी देखिएको छ। उक्त पत्थरी निकाल्ने विषयमा चिकित्सकहरूबीच छलफल भइरहेको छ। शल्यक्रिया गर्नेबारे अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको स्रोतले जनाएको छ। ओली स्वयं शल्यक्रियामार्फत पत्थरी निकाल्न इच्छुक रहेको बताइएको छ, तर हाल यसको आवश्यकता र सम्भावनाबारे विस्तृत मूल्यांकन भइरहेको छ।
शनिबार बिहान पक्राउ परेका ओलीलाई सोही दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। प्रारम्भिक जाँचका क्रममा मुटुको चालमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको थियो। थप परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी देखिएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित छानबिनका लागि गठित आयोगले ओलीमाथि कारबाही सिफारिस गरेको थियो। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
ओलीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान तथा अभियोजन सिफारिस गरिएको छ। यस कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।



