के तपाईँको हातमा भएको एक्स-रे रिपोर्ट साँच्चै सक्कली नै हो?
प्रविधिको दुरुपयोग गर्दै अहिले आर्टिफिसियल इन्टेलिजेन्स (AI) बाट बनेका ‘डिपफेक’ एक्स-रे चित्रहरूले चिकित्सा क्षेत्रमा नयाँ आतंक सिर्जना गरेका छन्। हालैका अनुसन्धानहरूले देखाएका छन् कि एआईले बनाउने नक्कली एक्स-रे रिपोर्टहरू यति यथार्थपरक हुन्छन् कि अनुभवी डाक्टरहरूले समेत ती सक्कली हुन् वा नक्कली भनेर छुट्याउन मुस्किल परिरहेको छ। यसले गर्दा गलत रिपोर्टका आधारमा बिरामीको अनावश्यक शल्यक्रिया हुने, गलत औषधि खुवाइने र ठूला-ठूला बीमा दाबी गरेर करोडौँ ठगी हुने जोखिम बढेको छ।
कसरी हुन्छ त ठगी? यस्ता छन् मुख्य खतराहरू
ह्याकर र ठगहरूले एआईको प्रयोग गरेर स्वस्थ मानिसको एक्स-रेमा नभएको हड्डी भाँचिएको वा ट्युमर भएको चित्र थपिदिने गरेका छन्। विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूको मेडिकल रिपोर्ट बिगार्न वा बिग्रिएको रिपोर्टलाई पैसा खाएर ‘सफा’ बनाउन यस्तो प्रविधिको प्रयोग हुन थालेको छ। त्यस्तै, बीमा रकम हात पार्नका लागि नक्कली दुर्घटना र गम्भीर चोटपटकका डिजिटल चित्रहरू बनाएर अस्पताल र बीमा कम्पनीलाई समेत झुक्याउने गरिएको छ।
यस्तो गम्भीर समस्याबाट बच्न अब अस्पतालहरूले आफ्ना डिजिटल प्रणालीलाई थप सुरक्षित बनाउनुपर्ने र एक्स-रे चित्रहरूमा ‘डिजिटल वाटरमार्क’ वा विशेष कोड राख्नुपर्ने आवश्यकता देखिएको छ। विज्ञहरूका अनुसार, यदि समयमै यसको पहिचान गर्ने प्रविधि विकास नगरिएमा भविष्यमा डाक्टरको अनुभव भन्दा एआईको ‘नक्कली जादु’ भारी हुन सक्ने र बिरामीको ज्यानै जोखिममा पर्न सक्ने देखिएको छ।



