राष्ट्रिय परिचय पत्र सेवा ९ दिनदेखि ठप्प, सेवाग्राही मर्कामा

काठमाडौँ — राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा ९ दिनदेखि अवरुद्ध हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।

वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएको भए पनि हालसम्म सेवा पूर्ण रूपमा सुचारु हुन सकेको छैन। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग ले वैशाख २३ गते सूचना जारी गर्दै प्रणालीमा समस्या आएको र मर्मत कार्य जारी रहेको जनाएको थियो।

प्रणाली सञ्चालनमा नआएपछि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले समेत सूचना जारी गर्दै राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा अस्थायी रूपमा बन्द रहेको बताएका छन्।

प्रणाली अवरुद्ध भएपछि इनरोलका क्रममा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले मान्यता दिन सकेको छैन। यसका कारण राष्ट्रिय परिचय पत्रको विवरण सच्याउने सेवा, जन्मदर्ताका क्रममा एनआइएन (NIN) जेनेरेट हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा तथा एनआइडीएमआइएस (NIDMIS) सँग आबद्ध अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन्।

यद्यपि, यसअघि नै राष्ट्रिय परिचय पत्र प्राप्त गरी प्रणालीबाट मान्यता पाइसकेका व्यक्तिहरूको हकमा राष्ट्रिय परिचय पत्रसँग सम्बन्धित सेवाहरू भने सञ्चालनमै रहेको विभागले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट अर्को सूचना प्राप्त नभएसम्म सम्बन्धित सेवा सञ्चालन नहुने बताएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin