१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री सहभागी नभएको विषयलाई अनावश्यक रूपमा विवाद नबनाउन आग्रह गरेका छन्।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठक राजनीतिक दलका शीर्ष नेताहरूबीच वर्तमान घटनाक्रमबारे साझा धारणा बनाउने र सरकारलाई आवश्यक ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको बताए।
उनले प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित रहे पनि सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी भएको स्पष्ट पारे।
“प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। कुनै पनि घटनाको सुरुआतमै निष्कर्षमा पुगिहाल्ने अवस्था हुँदैन,” उनले भने।
लामिछानेले अहिलेको प्राथमिकता कसले बोल्यो वा को बैठकमा आयो भन्नेभन्दा पनि देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नु रहेको बताए। आरोप–प्रत्यारोपमा केन्द्रित हुनुको सट्टा सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
सुनसरीको देवानगञ्जमा गोली लागेर एक नागरिकको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य बाहिर आउन छानबिन सम्पन्न हुन समय लाग्ने बताए। उनले यस विषयमा सुरक्षा निकायले जिम्मेवार ढंगले काम गर्नुपर्ने धारणा पनि राखे।
भदौ २३–२४ को घटनाक्रम र अहिलेको परिस्थितिबीच तुलना गर्न नमिल्ने उल्लेख गर्दै उनले वर्तमान अवस्था फरक प्रकृतिको भएकाले त्यसैअनुसार मूल्यांकन गर्नुपर्ने बताए।
लामिछानेले यस्ता संवेदनशील घटनामा राजनीतिक दलहरू साझा रूपमा उभिएर सरकारलाई आवश्यक सुझाव र ध्यानाकर्षण गराउने अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए। राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि राष्ट्रिय एकता र सामाजिक सद्भावको विषयमा सबै दल एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक दलहरूको तर्फबाट छिट्टै संयुक्त अपिल सार्वजनिक गरिने जानकारी दिँदै त्यसले शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरे।
साथै, उनले सञ्चारमाध्यमलाई पनि संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे।



