काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन्।
पछिल्लो समय विकसित केही घटनाक्रमका कारण समाजमा आपसी एकता र सद्भाव कायम राख्न शुक्रबार छलफल आयोजना गरिएको हो। छलफलपछि सहभागी धार्मिक नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति, सहिष्णुता र आपसी एकताको पक्षमा प्रतिबद्धता जनाएका छन्।
छलफलमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मोहम्मद खालिदले नेपालको विशिष्ट पहिचान र सामाजिक सद्भाव जोगाउन आफूहरू आवश्यक त्याग गर्न तयार रहेको बताए।
उनले नेपाली समाजमा कहिल्यै विभाजन नरहेको र आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, शान्ति स्थापनाका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
धार्मिक अगुवाहरूले पछिल्ला घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
छलफलका क्रममा धार्मिक समुदायका अगुवाहरूले एकअर्कासँग हात मिलाउँदै नेपाली समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम रहेको सन्देशसमेत दिएका छन्।



