काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जलगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षले पहल गर्नुपर्ने धारणा राखिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
छलफलका क्रममा प्रथम राष्ट्रपति रामवरण यादवले सरकारले संवेदनशील अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको सहयोग लिएर समस्या समाधान गर्न सक्ने क्षमता देखाउनुपर्ने बताए।
उनले सामाजिक सद्भाव कायम राख्दै उत्पन्न परिस्थितिको समाधानका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।



