काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्था विस्तारै सामान्य बन्दै गएको सुरक्षा अधिकारीहरूले बताएका छन्। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा बनाइएको र प्रभावित क्षेत्रमा शान्ति सुव्यवस्था फर्किँदै गएको जनाइएको छ।
नेपाली सेनाको पूर्वी पृतनाका पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ अघि बढिरहेको र सुरक्षा फौज अझै उच्च सतर्कतामा रहेको बताए। उनका अनुसार पछिल्लो चुनौती क्रमशः कम हुँदै गएको छ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गर्नुका साथै घाइतेसँग भेट गरेका थिए। सरकार र पीडित परिवारबीच सहमति भएपछि मृतकको शव बुझ्ने तथा अन्त्येष्टि प्रक्रिया अघि बढेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपालका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मनिष थापाले तीनवटै सुरक्षा निकायबीच सहकार्य र समन्वयमा परिचालन भइरहेको भन्दै अहिले समग्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताए।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सुरक्षा निकायहरूले घटनाको सूक्ष्म अध्ययन, निगरानी र विश्लेषण गरिरहेका छन्। सुनसरीसहित केही तराईका जिल्लामा तनाव कम गर्न प्रशासनले सुरक्षा सतर्कता कायम राखेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्था मजबुत बनाउने र सामाजिक सद्भाव कायम राख्ने सरकारको मुख्य प्राथमिकता रहेको बताए। उनका अनुसार धार्मिक समुदायका अगुवाहरूसँग समेत छलफल गरी आपसी सद्भाव कायम राख्ने प्रयास भइरहेको छ।



