राजनीति सत्ता होइन, जनसेवाको माध्यम बन्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिमा बढ्दो पद र शक्तिको मोहप्रति चिन्ता व्यक्त गरे।

थापाले राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम भएको उल्लेख गर्दै शक्ति र सत्ता जनसेवाको साधन हुनुपर्ने बताए। तर अहिले शक्ति र सत्ताकै लागि राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले त्यसलाई राजनीतिको मूल उद्देश्यबाट विचलन भएको टिप्पणी गरे।

उनले पार्टीका संस्थापक नेताहरूले सत्ता प्राप्तिको लक्ष्यभन्दा पनि नागरिक सेवाको भावनाबाट नेपाली कांग्रेस स्थापना गरेको स्मरण गराउँदै वर्तमान नेतृत्वले पनि त्यही आदर्शलाई आत्मसात् गर्नुपर्ने धारणा राखे।

बदलिँदो राजनीतिक परिवेशसँगै पार्टीले नयाँ चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै उनले संगठन सुदृढीकरणसँगै वैचारिक स्पष्टता र प्रशिक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने बताए।

प्रतिष्ठानको कार्यशैलीको प्रशंसा गर्दै थापाले नियमित सांगठनिक गतिविधिसँगै पार्टीको मर्म र आत्मालाई जीवन्त राख्ने वैचारिक तथा सामाजिक कार्यक्रमहरू निरन्तर अघि बढाइनुपर्नेमा जोड दिए।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin