काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको बलियो आधार भएको बताएकी छन्।
आइतबार आयोजित २९औँ तुलसीलाल स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले केही दिनयता सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षले संयम अपनाउनुपर्नेमा जोड दिइन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानुनी शासनलाई मजबुत बनाउन सबै नेपालीले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।



