कुवेतमा ड्रोन आक्रमणपछि नेपाली समुदायमा त्रास, एक नेपालीको मृत्यु

काठमाडौं — कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ। सीमावर्ती क्षेत्रमा सुरक्षा जोखिम बढेपछि कुवेत सरकारले सतर्कता अपनाउन विभिन्न सुरक्षा उपाय लागू गरेको छ।

३० जुलाईमा इराकसँग जोडिएको कुवेतको सीमावर्ती क्षेत्र थाक्सीमा भएको ड्रोन आक्रमणमा मोरङको रतुवामाई नगरपालिका–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। सन् २०२२ देखि कुवेतमा कम्पनीको गाडी चालकका रूपमा कार्यरत तामाङ आक्रमणका बेला कम्पनीको गाडीमै रहेका थिए। ड्रोन गाडीमा खस्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

कुवेतस्थित एनआरएनएका अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि त्यहाँ रहेका नेपालीहरू चिन्तित र त्रसित छन्। उनका अनुसार पहिले सम्भावित ड्रोन वा मिसाइल जोखिम हुँदा साइरन बजाउने र मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना दिने व्यवस्था भए पनि मानिसमा थप आतंक सिर्जना भएकाले अहिले ती प्रणाली रोकिएको छ।

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कुवेत सरकारले रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थलमा आवश्यक बाहेकका बाहिरी बत्ती नबाल्न निर्देशन दिएको छ। तेल, ग्यास तथा संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीलाई ‘वर्क फ्रम होम’ व्यवस्था गरिएको छ भने नागरिकलाई अनावश्यक घरबाहिर ननिस्किन, आधिकारिक सूचनामात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरिएको छ।

अत्यावश्यक सामग्री अनावश्यक रूपमा सञ्चय नगर्न पनि निर्देशन दिइएको छ। एक पटकमा पाँच कार्टुनभन्दा बढी पानी खरिद गर्नसमेत रोक लगाइएको जानकारी दिइएको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमका अनुसार मृतक सोमकुमार तामाङको शव आवश्यक कानुनी कागजातसहित नेपाल पठाइसकिएको छ।

दूतावासले कुवेतमा रहेका नेपालीलाई कुवेत सरकार र नेपाली दूतावासबाट जारी हुने आधिकारिक सुरक्षा सूचनाको पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin