काठमाडौं, साउन १९ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका नेपाली सेनाका एक क्याप्टेनलाई सार्वजनिक रूपमा हप्कीदप्की गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको व्यापक आलोचना भइरहेको छ।
सोमबार गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी करिडोरको सडक ट्र्याक खोल्ने क्रममा सैनिक ब्यारेकको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र ड्युटीमा रहेका सेनाका क्याप्टेनबीच विवाद भएको थियो। सार्वजनिक भिडिओमा सांसद पाण्डेले डोजर चलाएर पर्खाल भत्काउन निर्देशन दिएको देखिन्छ।
तर सैनिक क्याप्टेनले लिखित आदेशबिना कुनै पनि संरचना भत्काउन नमिल्ने भन्दै चिठी मागेका थिए। उनले नेपाली सेनाको ‘चेन अफ कमान्ड’ अनुसार माथिल्लो निकायबाट औपचारिक आदेश नआएसम्म आफूले निर्णय कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारेका थिए।
भिडिओमा सांसद पाण्डेले भने “चिठ्ठी आउँदै गर्छ, पर्खाल भत्काउनू” भन्दै पटक–पटक आग्रह गरेको तथा “यो डोजर रोकिँदैन, मैले स्पष्ट आदेश लिएर आएको छु” भन्दै चर्को स्वरमा बोलिरहेको सुनिन्छ। सैनिक अधिकारीले ब्यारेकभित्र सैनिक र केही वन्यजन्तु रहेकाले तत्काल पर्खाल भत्काउँदा सुरक्षा तथा अन्य समस्या आउन सक्ने भन्दै रोक्न अनुरोध गरेका थिए।
सांसद पाण्डेको स्पष्टीकरण
घटनापछि प्रतिक्रिया दिँदै सांसद पाण्डेले उक्त करिडोर १५–२० वर्षदेखि अवरुद्ध रहेको र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पहलमा ट्र्याक खोल्न डोजर लगिएको बताए।
उनका अनुसार विवाद भएको केही मिनेटमै सम्बन्धित कर्णेल फिल्डमा पुगेर आवश्यक आदेश प्राप्त भएको जानकारी दिएका थिए। त्यसपछि नेपाली सेना, स्थानीय तह र सम्बन्धित निकायको समन्वयमा पर्खाल हटाएर सडक खोलिएको उनले दाबी गरे।
पाण्डेले नेपाली सेनाप्रति आफूलाई पूर्ण सम्मान रहेको उल्लेख गर्दै आफ्नो प्राथमिकता स्थानीय जनताको लामो समयदेखिको माग सम्बोधन गर्नु रहेको बताए।
नेपाली सेनाको प्रतिक्रिया
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्।
स्थानीयको भनाइ
गोकर्णेश्वर–४ का वडाध्यक्ष जयराम महतका अनुसार उक्त सडक सञ्चालनमा आएपछि गोकर्णेश्वरका विभिन्न वडासहित कागेश्वरी, शंकरापुर, मेलम्ची हुँदै सिन्धुपाल्चोक र नुवाकोटतर्फ आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो राहत पुग्नेछ।
उनले प्रधानमन्त्री कार्यालय तथा सम्बन्धित निकायबीच आवश्यक छलफलपछि नै सडक खुलाउने प्रक्रिया अघि बढाइएको जानकारी आफूले पाएको पनि बताएका छन्। साथै, घटनाका क्रममा सैनिक अधिकारीले आफ्नो जिम्मेवारीअनुसार काम गरेको उल्लेख गरेका छन्।



