त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण: छानबिन समितिको म्याद सकिँदा पनि प्रतिवेदन तयार भएन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न गठित समितिले तोकिएको समयभित्र काम सम्पन्न गर्न सकेको छैन।

त्रिवि व्यवस्थापन सङ्काय डिन कार्यालयले परीक्षा सुरु भएको केही मिनेटमै एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न गत साउन १० गते समिति गठन गरेको थियो। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

तर, समितिले समयसीमा सकिँदासमेत प्रतिवेदन तयार गर्न नसकेको जनाएको छ। समितिका संयोजक प्रा.डा. अच्यूत ज्ञवालीले घटनाको प्राविधिक अध्ययनका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको विवरण प्राप्त हुन ढिलाइ भएको बताए।

उनका अनुसार कुन डिजिटल उपकरणबाट प्रश्नपत्र बाहिरिएको हो र कसले प्रश्नपत्रको समाधान तयार गरेको हो भन्ने विषय पत्ता लगाउन प्रयोगशालाको सहयोग मागिएको थियो।

“कुन डिजिटल डिभाइसबाट प्रश्नपत्र लिक भएको हो र कसले प्रश्नपत्रको समाधान निकालेको हो भन्ने विषयमा अध्ययन गर्न प्रयोगशालालाई आग्रह गरेका थियौँ। तर रिपोर्ट आउन समय लागेको छ,” ज्ञवालीले बताए।

समितिले व्यवस्थापन सङ्कायको डिन कार्यालय, उपकुलपति कार्यालय, परीक्षा नियन्त्रण कार्यालयको गोप्य तथा अति गोप्य शाखा, केन्द्राध्यक्ष लगायतसँग छलफल र सोधपुछ गरिसकेको जनाएको छ।

छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा. ज्ञवाली रहेका छन् भने सदस्यमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन्।

त्रिवि व्यवस्थापन सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित एमबीएस प्रथम सत्रको एमजीटी–५१५ ‘अर्गनाइजेसन बिहेभियर’ विषयको परीक्षा सञ्चालन भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो।

घटनापछि शिक्षा तथा खेलकुद मन्त्रालयले समेत चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएको थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin