काठमाडौं । राजधानीको व्यस्त व्यापारिक क्षेत्रको पार्किङ समस्या समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको धरहराको निःशुल्क भूमिगत पार्किङ सर्वसाधारणका लागि प्रभावकारी विकल्प बन्दै गएको छ। सुन्धारा, न्युरोड, असन, बसन्तपुरलगायत क्षेत्रमा पुग्ने सेवाग्राहीहरूले सवारी पार्किङ गरी पैदल गन्तव्यमा पुग्ने सुविधा पाएका छन्।
काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरिरहेको तीन तहको भूमिगत पार्किङमा एकैपटक ३४७ वटा कार र करिब ७०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता रहेको छ। महानगरका अनुसार हाल यो सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध छ।
महानगरले न्युरोड क्षेत्रमा सडक किनारमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्ने अभियानसँगै धरहरा परिसरलाई वैकल्पिक पार्किङ केन्द्रका रूपमा विकास गरेको हो। यसले सडक अतिक्रमण घटाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन तथा सहरको मध्यभागमा पुग्ने सर्वसाधारणलाई सुरक्षित पार्किङ सुविधा उपलब्ध गराउन सहयोग पुगेको जनाएको छ।
धरहरा परिसरको पार्किङ विशेषगरी सुन्धारा आसपासका व्यापारिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा जानेहरूका लागि उपयोगी बन्दै गएको छ। पार्किङ स्थलबाट न्युरोड, इन्द्रचोक, असन र बसन्तपुरजस्ता मुख्य बजार क्षेत्रमा पैदल सहज रूपमा पुग्न सकिन्छ।
काठमाडौं महानगरपालिकाले आगामी दिनमा पनि पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै सहरको ट्राफिक चाप कम गर्ने योजनामा काम गरिरहेको जनाएको छ।



