काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबार पुगेका थिए।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पनि नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा दुई देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
भेटवार्तालाई प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाल–भारत सम्बन्धलाई थप सहकार्य र साझेदारीतर्फ अघि बढाउने प्रारम्भिक कूटनीतिक संवादका रूपमा हेरिएको छ।



