काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले समयमा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्।
सरकारले समयमा नै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको उनको भनाइ छ। उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म नपुगेको तथा समन्यायिक ढंगले वितरण हुन नसकेको गुनासो व्यापक रहेको उनले उल्लेख गरेका छन्।
प्रचण्डले मल आयातको प्रक्रिया जटिल हुने भएकाले समयमै पूर्वतयारी आवश्यक रहेको सरकारलाई स्मरण गराएका छन्। आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरतालाई बुझेर समयमै आपूर्ति र वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको उनले दाबी गरेका छन्।
उनले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।



