काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण खोज्न सरकारलाई आग्रह गरेका छन्।
घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत सरकारले बन्द उद्योग खोल्ने प्रयास गरिरहँदा सञ्चालनमा रहेका सरकारी सिमेन्ट उद्योग नै बन्द हुने अवस्थामा पुग्नुको कारण पहिचान गर्नुपर्ने बताएका हुन्।
उनले निजी लगानीकर्ताले खानी खरिद गरी अर्बौं रुपैयाँ लगानी गरेर स्थापना गरेका सिमेन्ट उद्योग नाफामा सञ्चालन भइरहेका बेला उत्कृष्ट चुनढुंगा खानी र विदेशी लगानीमा ठूलो संरचना निर्माण गरिएको सरकारी उद्योग घाटामा गएर बन्द हुने अवस्थामा पुग्नु गम्भीर विषय भएको बताएका छन्।
घिसिङले पाँच वर्षअघि प्रसारण लाइनसमेत नभएको अवस्थामा ह्वाङ्सी सिमेन्टले डिजेल जेनेरेटर चलाएर उत्पादन गर्दै नेपाली उपभोक्तालाई सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराएको उदाहरण प्रस्तुत गरेका छन्।
सरकारी संस्था सधैँ घाटामा सञ्चालन हुन्छन् भन्ने मान्यता नेपाल विद्युत् प्राधिकरणले गलत साबित गरेको उनको भनाइ छ।
‘स्थापनादेखि अधिकांश समय घाटामा रहेको प्राधिकरण विगत १० वर्षदेखि लगातार अर्बौंको नाफामा छ। यस अवधिमा विद्युत् महसुल करिब २५ प्रतिशतले घटाएर पनि नाफा कमाउन सक्दो रहेछ। नेतृत्व र व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ,’ उनले भनेका छन्।
घिसिङले सरकारले बन्द उद्योग खोल्ने मात्रै नभई तिनलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने र सञ्चालनमा रहेका उद्योगलाई बन्द हुनबाट जोगाउँदै नाफामा लैजाने विषयमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
उनले उद्योग सञ्चालनमा नेतृत्व, व्यवस्थापन र कार्यसम्पादनको भूमिका महत्वपूर्ण हुने भन्दै सरकारी उद्योगको अवस्था सुधारका लागि त्यसतर्फ गम्भीर भएर सोच्न सरकारलाई आग्रह गरेका छन्।



