देउवा स्वदेश फर्किए, भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न आएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि साढे पाँच महिनासम्म विदेशमा रहेपछि बिहीबार स्वदेश फर्किएका छन्।

सिंगापुर र हङकङमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै देउवाले चारबुँदे राजनीतिक अपिल सार्वजनिक गरेका छन्।

अपिलमा देउवाले आफू शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्। उनले मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबीच सहमति, सहकार्य र मेलमिलाप आवश्यक रहेकोमा जोड दिएका छन्।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले भनेका छन्।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गर्दै अहिले पनि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता रहेको बताएका छन्।

देउवाले प्रतिशोधभन्दा मेलमिलापको बाटो रोज्न पनि आह्वान गरेका छन्। आफू नेता बन्ने उद्देश्यले नभई देशको आजीवन नागरिकका रूपमा फर्किएको उनको भनाइ छ।

‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु,’ उनले भनेका छन्, ‘विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु।’

कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल सम्बोधन गर्नुपर्नेमा पनि देउवाले जोड दिएका छन्। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ छ।

संसदमा कांग्रेसको संख्यात्मक अवस्था जस्तो भए पनि २००७ सालदेखि मुलुकका राजनीतिक परिवर्तनका विभिन्न चरणमा कांग्रेसले नेतृत्व गरेको देउवाले स्मरण गरेका छन्।

उनले कांग्रेसजस्तो प्रमुख राजनीतिक दलभित्र विवाद हुँदा त्यसको असर राष्ट्रियतामै पर्न सक्ने बताएका छन्। सबैको त्याग, बलिदान र संघर्षलाई सम्मान गर्दै अघि बढ्नुपर्ने उनको आग्रह छ।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले भनेका छन्।

युवालाई अघि बढाउनुपर्नेमा आफू सकारात्मक रहेको उल्लेख गर्दै देउवाले पाका र अनुभवी नेताहरू सबै खराब हुन् भन्ने भाष्य निर्माण गर्न नहुने बताएका छन्। पार्टीभित्रका विभिन्न पक्षका भावनालाई पुनः जोडेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने उनको अपिल छ।

देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको जारी विवाद र नेतृत्वसम्बन्धी बहसका बीच अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय कांग्रेसको आधिकारिक नेतृत्व र पार्टीभित्रको विवादसम्बन्धी विषय अदालतसम्म पुगेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin