दलको बैठकमा बालेन सहभागी हुने, मन्त्री फेरबदलको तयारी छैन : रवि लामिछाने

rabi lamichhane

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित छिट्टै पार्टीको दलको बैठक बस्ने बताएका छन्।

बुधबार सिंहदरबारमा पार्टीका मन्त्री तथा संघीय सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले दलको बैठकमा प्रधानमन्त्री शाहको सहभागिताबारे कुनै दुबिधा नरहेको बताएका हुन्।

‘आजको बैठक सांसदहरू र सभापतिबीचको छलफल हो। दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुबिधा छैन,’ उनले भने।

बैठकमा लामिछानेले मन्त्री र सांसदहरूलाई कार्यशैली, आपसी समन्वय, संसदीय मर्यादा र परिणाममुखी काममा गम्भीर बन्न निर्देशन दिएका थिए। उनले आगामी दिनमा सरकारको कार्यशैलीमा परिवर्तन आउने बताए पनि तत्काल मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारे।

पछिल्लो समय प्रधानमन्त्री शाह र लामिछानेबीच भएको भेटपछि मन्त्रीहरू फेरबदल हुन सक्ने चर्चा चलिरहेको थियो। तर, लामिछानेले उक्त हल्लालाई अस्वीकार गर्दै पार्टीभित्र झगडा नभएको बताएका छन्।

‘मन्त्रीहरूले सयवटा काम गर्नुभएको छ, चार–पाँचवटामा प्रश्न आउनु स्वाभाविकै हो। रास्वपाभित्र आफ्नै भए पनि प्रश्न सुन्ने पार्टी हो। त्यसैले छलफल राखेका हौं। तर अहिले नै मन्त्री फेर्ने कुरा छैन, तयारी छैन। पार्टीमा झगडा पनि छैन,’ उनले भने।

बैठकमा लामिछानेले मन्त्री र सांसदहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न निर्देशन दिँदै राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमका रूपमा नलिन आग्रह गरेका थिए।

‘राजनीति पाँच वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदा गरिदिन्छु। लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न,’ उनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।

मन्त्रीहरूको कामकारबाहीबारे कुनै प्रश्न वा असन्तुष्टि भए सम्बन्धित मन्त्रीलाई सिधै लिखित रूपमा प्रश्न गर्न र आफूलाई समेत बोधार्थ दिन उनले निर्देशन दिएका छन्।

‘तपाईंहरू मलाई बोधार्थ दिएर सिधै मन्त्रीहरूलाई प्रश्न लेख्नुस्, म पनि अध्ययन गर्छु,’ लामिछानेले भने।

उनले सांसद, पार्टी र सरकारबीचको समन्वय अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। सांसदहरूसँग जनताका धेरै प्रश्न रहेको र मन्त्रीहरूसँग पनि सांसदका प्रश्न रहेकाले सबैले आ–आफ्नो तहबाट ती विषयलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले नियुक्तिलगायतका काममा योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। साथै, कोरम नपुगेर केही दिनअघि संसद् बैठक रोकिएको विषय उठाउँदै उनले सांसदहरू नियमित रूपमा सदनमा उपस्थित हुनुपर्ने बताएका छन्।

‘संसद नियमावली आफैं बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुँदैन,’ उनले भने।

सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार तथा गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै लामिछानेले अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउन निर्देशन दिएका छन्। संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायतका गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

उनले सांसद तथा मन्त्रीहरूलाई घमण्ड त्यागेर आपसी संवाद र सहकार्यमा जोड दिन आग्रह गर्दै जनताले प्रचारभन्दा परिणाम खोजिरहेको बताएका छन्।

‘तपाईंहरू अध्ययन र सिकाइमा ध्यान दिनुस्। सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने, सदनमा कसरी प्रस्तुत हुने, सरकार र जनतासँग कसरी प्रस्तुत हुने भन्नेबारे अध्ययन र विश्लेषण गर्नुपर्छ,’ उनले भने।

लामिछानेले सांसद र मन्त्रीहरूलाई ‘आरएसपी पल्स’ एपमा आफ्ना गतिविधि नियमित रूपमा अद्यावधिक गर्न पनि निर्देशन दिएका छन्।

बालेनको ‘एक्लो’ स्ट्याटसमाथि रविको प्रतिक्रिया

यसैबीच, प्रधानमन्त्री बालेन शाहले केही समयअघि ‘एक्लै लड्नुपर्छ’ भन्दै सामाजिक सञ्जालमा लेखेको स्ट्याटसबारे पनि लामिछानेले प्रतिक्रिया दिएका छन्।

पत्रकारको प्रश्नमा उनले प्रधानमन्त्री शाह कवि र कलाकारसमेत भएकाले उनको हरेक अभिव्यक्तिको राजनीतिक अर्थ खोज्न नहुने बताए।

‘उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि। अहिले यहाँ यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र? त्यसैले हामीले खोजेजस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन,’ उनले भने।

उनले प्रधानमन्त्री शाह एक्लो नरहेको भन्दै पार्टी सिंगो रूपमा उनीसँग रहेको दाबी गरे।

पार्टीको केन्द्रीय समिति तथा पदाधिकारीलाई पूर्णता दिने विषयमा लामिछानेले महाधिवेशनपछि समायोजनको प्रक्रिया सकिएको र अब विधानअनुसार सभापतिको मनोनयन अधिकार प्रयोग गर्दै योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याइने बताए।

उनले पार्टीभित्र कुनै गुट वा पक्ष नरहेको दाबी गर्दै रास्वपा एकताबद्ध रहेको बताएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin